
२० माघ, काठमाण्डौ । प्रधानमन्त्री निर्वाचनबारे छलफल गर्न एकीकृत नेकपा माओवादीको स्थायी समिति वैठक अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा वसिरहेको छ ।
आफ्नो जित्ने सम्भावना नदेखिएको भन्दै एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने प्रस्तावमाथि छलफल गर्न अध्यक्ष प्रचण्डले वैठक बोलाएको माओवादी स्रोतले जनाएको छ ।
वैठकमा अध्यक्ष प्रचण्डले आजको निर्वाचनमै एमाले अध्यक्षलाई खनाललाई समर्थन गरेर भारतले नरुचाएको ‘नेपालीको सरकार’ बनाउनुपर्ने प्रस्ताव गर्ने बुझिएको छ । अहिलेको मुख्य लडाई भारतसंग भएको र माओवादी नेतृत्वको सरकार बन्न नदिएर भारतले दादागिरी देखाएको भन्दै प्रचण्डले भारतले नरुचाएका खनाललाई प्रधानमन्त्री बनाए माओवादीको जीत हुने र आफु अनुकुलको सरकार बन्ने बताइरहेका छन् ।
तर, उपाध्यक्ष डा. बाबुराम भट्टराई र मोहन बैद्य किरण पक्षले भने एमाले नेतृत्वको सरकारमा सहभागी हुन नसकिने बताउंदै आएका छन् । खनाललाई समर्थन गर्ने निर्णय गरिएमा एक सयभन्दा बढी सभासद्ले पार्टीको ह्वीप उल्लंघन गर्ने चेतावनी दिंदै आएका छन् ।