काठमाडौ, माघ २० - माओवादीले पहिलो चरणको निर्वाचनमा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित नभए दोस्रो चरणमा उम्मेदवारी फिर्ता लिई एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने माओवादी नेताहरूले बताएका छन् ।मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि आफ्नो सम्भावना कम भएकाले माओवादी दोस्रो चरणबाटै प्रधानमन्त्री चयन गर्ने मनस्थितिमा पुगेको हो ।
स्थायी समिति सदस्य वर्षमान पुनले प्रथम चरणमा अध्यक्ष दाहाल निर्वाचित हुने सम्भावना भएको उल्लेख गर्दै त्यसो नभए दोस्रो चरणमा खनाललाई समर्थन गर्ने बताए । 'पहिलो चरणमा अध्यक्ष निर्वाचित हुने सम्भावना छ,' उनले ईकान्तिपुरसँग भने, 'त्यसो नभए पार्टीले दोस्रो चरणमा एमालेलाई समर्थन गर्ने सम्भावना छ ।'
उनले तेस्रो चरणमा प्रधानमन्त्री चयन नभए वर्तमान सरकार दोहोरिने सम्भावना भएकाले माओवादी जसरी पनि नयाँ प्रधानमन्त्री चयनको पक्षमा रहेको उल्लेख गरे । 'पहिलो वा दोस्रो चरणभित्र प्रधानमन्त्री चयन गर्ने पक्षमा पार्टी छ,' माओवादी नेता पुनले भने, 'तेस्रो चरणमा पनि प्रधानमन्त्री चयन नगरी यही सरकार दोहोर्याउने षड्यन्त्र भइरहेको छ ।'
मधेसवादी र साना दलको समर्थनमा बिहीबार प्रधानमन्त्री चयन हुने दाबी गर्दै आएको माओवादीले गच्छदारको उम्मेदवारीपछि आफूअनुकूल सरकार बनाउन खनाललाई र्समर्थन गर्न लागेको हो । माओवादीले समर्थन गरे खनालको पक्षमा अत्यधिक बहुमत पुग्छ ।
उपाध्यक्ष बाबुराम भट्टराई पक्ष आफ्नो नेतृत्वमा सरकार नबने प्रतिपक्षमा बस्नुपर्ने पक्षमा छन् । अरू दलको नेतृत्वमा बन्ने बहुमतको सरकारले शान्ति र संविधान निष्कर्षमा पुर्याउन नसक्ने उल्लेख गर्दै प्रतिपक्षमा बस्नुपर्ने उनीहरूले बताएका छन् । 'अध्यक्षले उम्मेदवारी फिर्ता लिन हुँदैन भन्ने सुझाव छ,' भट्टराईनिकट पोलिटब्युरो सदस्य राम कार्कीले भने, 'बहुमतीय सरकारले समस्या समाधान गर्दैन, त्यसैले आफ्नो नेतृत्वमा नबने प्रतिपक्षमा बस्नुपर्छ ।'
दाहालले उम्मेदवारी दिनुअघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकमा भट्टराई पक्षका आठ सभासदले पार्टीको उम्मेदवारले नजिते प्रतिपक्षमा बस्नुपर्ने बताएका थिए । सभासदहरू प्रभु साह, ज्वालाकुमारी साह, देवी खड्कालगायतले दाहाललाई 'तपाईंको उम्मेदवारी जित्न हो कि फिर्ता लिन हो ?' भन्दै खनाललाई समर्थन गरे बहिष्कार गर्न सक्ने चेतावनी दिएका थिए । दाहालले उम्मेदवारी फिर्ता लिने अवस्था आए केन्द्रीय पदाधिकारी बैठकले निर्णय गर्ने बताएका थिए ।
सचिव सीपी गजुरेलले पहिलो चरणको निर्वाचनमा अध्यक्ष दाहाललाई जिताउन लागिपर्ने र विकल्प खोज्नुपरे पदाधिकारी बैठक बसी तुरुन्त निर्णय गर्ने बताए । 'अहिले विकल्पबारे छलफल गरेका छैनौं, अध्यक्षलाई जिताउन लागिपरेका छौं,' उनले भने, 'विकल्पको निर्णय गर्नुपरे पदाधिकारी बैठक बसी तुरुन्त निर्णय गर्न सकिन्छ ।' उनले दाहालले नजिते बहुमतमा बस्ने वा विकल्पमा कसैलाई समर्थन गर्ने भन्नेबारे त्यसैबेला निर्णय गरिने बताए । माओवादीले आफ्नो नेतृत्वमा सरकार नबनेमा 'भारतले नचाहेको सरकार बनाउन' एमाले अध्यक्ष खनाललाई र्समर्थन गर्ने राणनीति लिएको हो ।
यसैबिच माओवादीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी निर्णयप्रति उपाध्यक्ष बाबुराम भट्टराईले 'नोट अफ डिसेन्ट' लेखेको नेतृ हिसिला यमीले जानकारी दिइन् ।
यसैबिच माओवादीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी निर्णयप्रति उपाध्यक्ष बाबुराम भट्टराईले 'नोट अफ डिसेन्ट' लेखेको नेतृ हिसिला यमीले जानकारी दिइन् ।
उम्मेदवारी फिर्ता लिएर खनाललाई सहयोग गर्ने विषयमा छलफल गर्न माओवादी स्थायी समितिको बैठक संसद् भवन नयाँ बानेश्वर झण्डै तीन घण्टा बसेको थियो ।
