Search Here

Custom Search

डीएसपी आत्महत्यामा ‘कलगर्ल’को हात


भारतीय मन्त्रीबाट १ करोड लिएको खुलासा

१६ माघ, काठमाडौं । केही दिनअघि काठमाडौंको बसुन्धरामा आत्महत्या गरेको भनिएका प्रहरीका डीएसपी कन्चन थापाले पेशेवर बेश्याको चुंगुलमा परेर आत्महत्या गरेको खुलासा भएको छ ।
आत्महत्याका समयमा थापासँगै रहेकी खोपकुमारी अधिकारीसँगको बयानका क्रममा प्रहरीले सो तथ्य पत्ता लगाएको हो । अधिकारीले सुरुमा प्रहरीसमक्ष आफू थापाको श्रीमती भएको दावी गरेपनि बयानका क्रममा पेशेवर यौन व्यवसायी भएको र आफ्नो सञ्जाल भारतदेखि सिंगापुरसम्म फैलाएको स्वीकार गरेकी छन् ।
प्रहरी नियन्त्रणमा रहेकी खोपकुमारीले आफूले नेपालदेखि भारत, थाइल्यान्ड र सिंगापुरसम्मका विभिन्न सहरमा नेपाली युवती पुर्‍याउने गरेको स्वीकारेकी छन् । उनको सन्जालमा २० देखि २५ जना युवती संगठित बनेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । जसमध्ये केहीको नाम र तस्बिरसमेत फेला परेको प्रहरीको भनाई छ । अनुसन्धानमा संलग्न प्रहरीले फेला परेका तस्बिरका आधारमा सन्जालमा सम्भ्रान्त परिवारका सदस्यसमेत संलग्न रहेको पत्ता लागेको छ ।
डिएसपी थापा करिब चार वर्षदेखि खोपकुमारीको नियमित सम्पर्कमा रहेको र बसुन्धरामा घर भाडामा लिएर खोपकुमारीलाई राख्दै आएको खुलेको छ । थापाले खोपकुमारीसँगको प्रेममा परेर विवाह गर्नेसमेत योजना बनाएका थिए । भारतको कर्नाटक राज्यका पूर्वमन्त्री सुरेन्द्रसिंह राठौरसँग समेत सम्बन्धमा रहेकी खोपकुमारीको मोवाइलमा उनीसँग सहवास गर्दा खिचिएको अश्लिल क्लिप देखेपछि थापाले आत्महत्या गर्ने अवस्थामा पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
खोपकुमारीको सञ्जालले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका उच्च अधिकारी तथा ठूला व्यापारीसम्म पनि युवती पुर्‍याउने गरेको देखिएको छ । ‘घुम्ने बहानामा भारत जाँदा परिवारका सदस्यहरुले त्यस्ता युवतीको निगरानी गरेको देखिएन,’ एक प्रहरी अधिकारीले भने । नेपालका उच्चपदस्थ सरकारी अधिकारी, प्रहरी, सेना तथा व्यापारीसम्म कल गर्लको सेवा पुर्‍याएको खोपकुमारीले स्वीकार गरेकी छन् ।
भारतीय मन्त्री पनि अधिकारीको चुंगुलमा
प्रहरीका अनुसार खोपकुमारीले भारत कर्नाटक राज्यका पूर्वमन्त्री सुरेन्द्रसिंह राठौरलाई समेत आफ्नो चंगुलमा पारेकी थिइन् ।
राठौरले खोपकुमारीलाई दुई वर्षको अवधिमा एक करोडभन्दा बढी नगद उपलब्ध गराइसकेका छन् । नयाँदिल्लीको एक्स ब्लकमा बस्दै आएका ६६ वर्षीय राठौर खोपकुमारीसँगको सम्बन्धकै लागि बेलाबेलामा नेपाल आउने र खोपकुमारी पनि पटक-पटक नयाँदिल्ली जाने गरेको अनुसन्धानबाट देखिएको छ । खोपकुमारीले राठौरले २०६५ सालमा पठाएको साढे ६२ लाख रुपैयाँले नेपालटारको हिले टोलमा तीनतले घर बनाएको र २०६६ सालमा पठाएको ४० लाख रुपैयाँ बैंकमा जम्मा गरेको प्रमाण प्रहरीले फेला पारेको छ । हिले टोलमा उनका बुवा गोबिन्द अधिकारीसहितको परिवार बस्दै आएको छ । खोपकुमारी २०५८ सालदेखि भारत जान थालेको पनि अनुसन्धानमा खुलेको छ ।
को हुन् खोपकुमारी ?
रसुवाको भोर्ले ९ स्थायी घर भएकी २४ वर्षीया खोपकुमारीले १४ वर्षको उमेरमा कल गर्लको रुपमा काम गर्न थालेकी थिइन् । सुरुमा राजधानीको सुकेधारामा फ्ल्याट भाडामा लिएर यौन व्यवसाय चलाएकी उनी पछिल्लोपटक भारतका विभन्न सहरसम्म सन्जालका सदस्यका साथ पुग्ने गरेकी थिइन् । उनको सञ्जालमा १५ वर्षदेखि ३५ वर्ष उमेरसम्मका युवती रहेको जानकारी प्रहरीले दिएको छ ।
उनीहरुले एकपटकको भारत भ्रमणमा प्रतिव्यक्ति ५० हजारभन्दा बढी रकम लिएर फर्कने गरेका छन् । ‘म गरिबकी छोरी हुँ, केही बिराएकी छैन,’ बयानका क्रममा पटक-पटक खोपकुमारीले भनेको शब्द उद्धृत गर्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने ।

हत्या आरोपमा गैंडालाई जेल

                बर्दिया, माघ १४- गल्ती गरेपछि मानिसले सजाय भोगेको त सुनिएकै हो, तर सजाय त गैंडाले पनि भोग्नुपर्दोरहेछ। स्थानीय वृद्धलाई आक्रमण गरेको 'अभियोग' मा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा गैंडा एक वर्षयता 'जेलसजाय' भोगिरहेको छ।
आँखा नदेख्ने 'विक्रम' नामको उक्त एकसिंगे गैंडाले एक वर्षअघि स्थानीय कृष्णमन्दिरका पुजारी ६० वर्षीय मनबहादुर रानालाई आक्रमण गरेको थियो। वृद्धको उपचारका क्रममा मृत्यु भएपछि गैडालाई सजाय दिइएको हो।
'आँखा नदेख्ने भएकाले ऊसँग कोही डराउँदैनथे,' एक सुरक्षाकर्मीले भने, 'यहाँ आउने पर्यटक त्यसैको अगाडि-पछाडि बसेर फोटो खिचाउँथे।'
अनाथ र आँखा नदेख्ने भएपछि विक्रमलाई सन् २००२ मा चितवन निकुञ्जबाट बर्दिया निकुञ्ज ल्याइएको थियो। 'यो गैंडालाई चितवनमा गाउँलेले पिटेर घाइते बनाएछन्,' संरक्षण अधिकृत रमेश थापाले भने, 'स्थानान्तरण गरेर यहाँ ल्याइयो, हेर्दाहेर्दै पूर्ण रूपमा देख्न नसक्ने भयो।'
गैंडालाई निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारी परिवारको सदस्यजस्तै माया गरेको थापाले सुनाए। बर्दिया निकुञ्जमा २८ गंैडा भए पनि ४ वटा भारततिर छन्। विक्रमलाई पाँच महिनापछि 'जेलमुक्त' गरिने निकुञ्ज कार्यालयले जनाएको छ।
'त्यति सोझो गैंडालाई जेलमा राख्ने मन छैन,' उनले भने, 'तर, छाडिदिँदा कसैमाथि आक्रमण गर्न सक्छ।'
एक वर्षदेखि बारेको एक कट्ठा जमिनमा गैंडाले बन्धक जीवन बिताइरहेको संरक्षण अधिकृत अशोक भण्डारीले बताए। 'बाहिर छँदा नेपाली सेनाको क्याम्प र निकुञ्ज कार्यालयपरिसर गरी १५ किलोमिटर दूरी दिनभरि हिँडेर बिताउँथ्यो,' उनले भने, 'अहिले यसले एक कट्ठा जमिनवरिपरि हिँडेर दिन काट्नुपरेको छ।'
भण्डारीका अनुसार बबई गुठीमा थप हुन लागेका तीन पोस्ट तयार भएपछि उक्त गैँडालाई त्यहाँ लगेर मुक्त गरिनेछ।
बर्दिया निकुञ्जमा रहेका २४ गैंडामध्ये विक्रमलाई प्रायले नजिकैबाट हेर्न पाएको पर्या-पर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बताए। 'उसले रानामाथि कसरी आक्रमण गर्‍यो, अचम्मित छु,' उनले भने।