बर्दिया, माघ १४- गल्ती गरेपछि मानिसले सजाय भोगेको त सुनिएकै हो, तर सजाय त गैंडाले पनि भोग्नुपर्दोरहेछ। स्थानीय वृद्धलाई आक्रमण गरेको 'अभियोग' मा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा गैंडा एक वर्षयता 'जेलसजाय' भोगिरहेको छ।
आँखा नदेख्ने 'विक्रम' नामको उक्त एकसिंगे गैंडाले एक वर्षअघि स्थानीय कृष्णमन्दिरका पुजारी ६० वर्षीय मनबहादुर रानालाई आक्रमण गरेको थियो। वृद्धको उपचारका क्रममा मृत्यु भएपछि गैडालाई सजाय दिइएको हो।
'आँखा नदेख्ने भएकाले ऊसँग कोही डराउँदैनथे,' एक सुरक्षाकर्मीले भने, 'यहाँ आउने पर्यटक त्यसैको अगाडि-पछाडि बसेर फोटो खिचाउँथे।'
अनाथ र आँखा नदेख्ने भएपछि विक्रमलाई सन् २००२ मा चितवन निकुञ्जबाट बर्दिया निकुञ्ज ल्याइएको थियो। 'यो गैंडालाई चितवनमा गाउँलेले पिटेर घाइते बनाएछन्,' संरक्षण अधिकृत रमेश थापाले भने, 'स्थानान्तरण गरेर यहाँ ल्याइयो, हेर्दाहेर्दै पूर्ण रूपमा देख्न नसक्ने भयो।'
गैंडालाई निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारी परिवारको सदस्यजस्तै माया गरेको थापाले सुनाए। बर्दिया निकुञ्जमा २८ गंैडा भए पनि ४ वटा भारततिर छन्। विक्रमलाई पाँच महिनापछि 'जेलमुक्त' गरिने निकुञ्ज कार्यालयले जनाएको छ।
'त्यति सोझो गैंडालाई जेलमा राख्ने मन छैन,' उनले भने, 'तर, छाडिदिँदा कसैमाथि आक्रमण गर्न सक्छ।'
एक वर्षदेखि बारेको एक कट्ठा जमिनमा गैंडाले बन्धक जीवन बिताइरहेको संरक्षण अधिकृत अशोक भण्डारीले बताए। 'बाहिर छँदा नेपाली सेनाको क्याम्प र निकुञ्ज कार्यालयपरिसर गरी १५ किलोमिटर दूरी दिनभरि हिँडेर बिताउँथ्यो,' उनले भने, 'अहिले यसले एक कट्ठा जमिनवरिपरि हिँडेर दिन काट्नुपरेको छ।'
भण्डारीका अनुसार बबई गुठीमा थप हुन लागेका तीन पोस्ट तयार भएपछि उक्त गैँडालाई त्यहाँ लगेर मुक्त गरिनेछ।
बर्दिया निकुञ्जमा रहेका २४ गैंडामध्ये विक्रमलाई प्रायले नजिकैबाट हेर्न पाएको पर्या-पर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बताए। 'उसले रानामाथि कसरी आक्रमण गर्यो, अचम्मित छु,' उनले भने।
