काठमाडौं, माघ २० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री निर्वाचनबाट बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । दाहालले एमाले अध्यक्ष झलनाथ खनाललाई सहयोग गर्ने घोषणासहित उम्मेदवारी फिर्ता लिएका हुन् ।
कोही पनि त्याग गर्न तयार नभएपछि सहमतिका लागि आफूले उम्मेदवारी फिर्ता लिएको दाहालले बताए । 'कोही पनि त्याग गर्ने छैन, हामी आफ्नै कुरामात्र राखिरहन्छौं,' उनले भने, 'फेरि लेखाजोखा गर्दा परिणाम नआउने नै भएपछि उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको छु ।'
दाहालले चारै जना उम्मेदवार मैदानमा रहँदा आफू पनि पुनः हार्ने सूचिमा पर्ने भएकाले उम्मेदवारीबारे निर्णय पुर्नविचार गर्न बाध्य भएको उल्लेख गरे । 'म ठूलो पार्टीको अध्यक्ष, फेरि पनि यहि हार्ने लिस्टमा पर्नेकुराले मलाई रातभर निन्द्रा परेन,' उम्मेदवारी फिर्ताको औचित्यबारे उनले भने, 'रामचन्द्रजीलाई भन्यो, तीन महिना छाडिदिनोस् भन्नुहुन्छ, झलनाथजीले आफ्नै लागि छाडिदिनुस् भन्नुहुन्छ, विजय गच्छदारको पनि सपना होला, यसरी फेरि परिणाम निस्कँदैन ।'
दाहालले पहिलेजस्तै फेरि पनि निर्वाचन प्रक्रिया लम्ब्याइरहे जनताको आक्रोस थपिने र त्यसले भयङ्कर रुप लिने बताए । 'अहिले त एकाध जनताले एकाध थप्पड हानेका छन् अब त जनताले सडकमा निस्कनेवित्तिकै जुत्ता हान्नेछन्,' दाहालले भने ।
