Search Here

Custom Search

२० लाखमा चिनियाँसँग बिहे (नक्कली बिहे गर्नेलाई १४ वर्षसम्म जेल सजाय हुने )

हङकङ, माघ १४ - श्रीमान्-श्रीमती हुन्, किनकि विवाह दर्ता प्रमाणपत्र छ । इष्टमित्र डाकी रीतिरिवाजअनुरूप टीकाटालो गरिएको तस्बिर सबुत छन् । तर बिहेपछि सँगै बस्नुपर्ने वरवधू एक-अर्कासँग जरुरी काम पर्दाबाहेक कुरासमेत गर्दैनन् । कारण हो, नक्कली विवाह ।

हङकङ बसोबासको परिचयपत्र (आईडी) हात पार्न पछिल्लो समय स्थानीय चिनियाँसँग नक्कली बिहे गरी भित्रिने नेपालीको संख्या बढ्दो छ । बिहेका लागि झन्डै दर्जन बढी चिनियाँ हालै नेपाल पुगेका छन् । पन्ध्रदेखि बीस लाख रुपैयाँसम्म तिर्नुपर्ने यस्तो विवाहमा वरवधू खोज्ने काम दलालले गर्छन् । चिनियाँ नागरिकसँग नक्कली बिहे गरी हङकङ भित्रिनेको संख्या सय नाघिसकेको संलग्न एकले बताए ।

कमजोर आर्थिक अवस्था भएका, लतमा फसेका र सम्बन्ध विच्छेद गरेका चिनियाँ ठूलो रकम पाइने लोभमा नक्कली विवाहका लागि राजी हुने गरेका छन् । श्रीमान्/श्रीमती सहमतिमै छोडपत्र गरी नक्कली विवाह गर्नेहरू पनि छन् । अस्थायी परिचयपत्र पाइसकेपछि पनि आश्रति भिसामा बस्नेहरू सधैं त्रसित रहनुपर्ने हुन्छ । अध्यागमनले स्थायी नहुन्जेल पहिलो पटक वर्षदिन र त्यसपछि तीन/तीन वर्षको भिसा दिन्छ । प्रत्येक पटक भिसा थप्ने बेला दुवै सँगै रहेको विश्वस्त पार्नुपर्ने हुन्छ । मुख्य निवेदकलाई स्वीकार्य नभए आश्रति भिसामा बस्ने जुनसुकै बेला स्वदेश र्फकनुपर्ने बाध्यता छ ।

नक्कली विवाह गरी आउनेहरू दर्जनौंले विभिन्न खाले समस्या भोग्नुपरेको एक्युट कन्सल्टेन्सीका अध्यागमन परामर्शदाता इन्द्र वनेमले बताए । 'कुनै एक पक्ष बिरामी, दुर्घटना वा मृत्यु हुँदा निकट नातेदारका रूपमा श्रीमान् वा श्रीमतीलाई खोजिन्छ,' वनेमले भने, 'विवाह कागजीमात्रै भएकाले अधिकांश पैसा लिएपछि देखा पर्दैनन् ।' नेपाली समुदायका एक्ला वकिल एकनारायण शर्मा यस्ता अवैध क्रियाकलापले असली विवाह गर्न चाहने समेत मर्कामा परेको बताउँछन् ।

नक्कली विवाह गराउन सघाउने दलालले अध्यागमनमा पेस गर्नुपर्ने सरकारी कागजात समेत तयार पारिदिने जिम्मा लिन्छन् । 'हामी जन्म, विवाहदर्ता, सम्बन्ध विच्छेद, नागरिकता, लाइसेन्स, पासपोर्ट सबै बनाइदिन्छौं,' एक नेपाली दलालले निर्धक्क भने, 'नेपालमा हाम्रो सेटिङ छ, सबै सक्कली नै हुन् ।' तर दलालले सक्कली भनेर थमाएका दर्जनौं शंकास्पद कागजात अध्यागमनले नेपाली महावाणिज्य दूतावासमा पुष्टिका लागि पठाउने गरेको वाणिज्यदूत किरण शाक्यले बताए । 'हामीसँग हङकङ अध्यागमनले प्रमाणित गरिदिन पठाएका २ सय ४० शंकास्पद पत्रहरू पेन्डिङमा छन्,' उनले भने, 'अधिकांश कागजात आईडी र भ्रमण भिसाका लागि आवेदन दिँदा समावेश गरिएका हुन् ।' शाक्यले आफ्नो जस्तै दुरुस्तै हस्ताक्षर गरिएको नक्कलीपत्र यहाँस्थित बेलायती दूतावासले देखाएको समेत सुनाए । 'सरकारी कागजातै नक्कली हुन थालेपछि सरकारमाथिको विश्वसनीयता पनि गुम्दो छ,' उनले भने, 'अहिले सक्कली कागजातमा समेत आधिकारिकता प्रस्ट्याउन पत्र आउने गरेको छ ।'

आईडीका लागि नेपाली-नेपालीबीच पनि नक्कली विवाह हुने गरेका छन् । पैसा लेनदेन लगायत समस्याले भिसा नथपिँदा कयौं स्वदेश फर्किएका र अवैध बसोबास गरेका पनि छन् । विवाह केवल हङकङमा बसोबास गर्ने नियतले मात्र भएको प्रमाणित भए परिचयपत्र प्राप्त गरिसके पनि अवैध घोषित गरी देश फर्काइन सक्ने हङकङ अध्यागमनले जनाएको छ । यस्ता कार्य गर्नेलाई झूटो विवरण पेस गरेका आधारमा अधिकतम १४ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्रावधान छ । केही महिनाअघि यस्तै एक अभियोगमा एक मलेसियन र चिनियाँ युवतीलाई जेल सजाय भएको समाचार सार्वजनिक भएको थियो ।